नेपालमा अहिले यति बज्यो

Apr 23, 2012

योगको परिचय





योगको परिचयः
योग शब्द वेद, उपनिषद, गीता, पुराण आदि प्राचिन कालदेखि नै व्यवहारमा आएको देखिन्छ । आत्मदर्शन तथा समाधि देखि लिएर कर्म क्षेत्र सम्म योगको व्यापक प्रयोग भएको देखिन्छ । योग दर्शनका आविस्कारक महर्षी पतञ्जली हुन् । उनको भनाईमा योगको अर्थ चित्तवृत्ति निरोध बताउनु हुन्छ । जस्तो प्रमाण, प्रतिकुलता, विकल्प, निन्द्रा र स्मृति यी पञ्च वृत्तिहरु योगको अभ्यास साधना र वैराग्यबाट मनै देखि लयबद्ध रुपले आफ्नो स्वरुपमा अवस्थित हुनु योग हो । महर्षी व्यासको विचारमा समाधीनै योग हो । सम्यमपूर्वक साधना गर्दै आत्मालाई परमात्मासँग योग द्वारा जोडेर आनन्द लिनुनै योग हो । योगेश्वर भगवान श्रीकृष्ण भन्नुहुन्छ सिद्धि, अशिद्धि, सफलता, असफलता, जय, पराजय आदि सम्पूर्ण भावलाई आत्मसाथ गर्दै सम अवस्थामा रहनुलाई योग भन्नु हुन्छ ।
वास्तवमा योग आत्मसाक्षातकार, आत्मबोध, आध्यात्मिक दर्शन, जीवन दर्शन, जीवनको प्रवद्र्धन गर्दै, आत्मअनुशासन, जीवनशैली, योगलाई चिकित्सा विज्ञानसँग जोडेर जीवन विज्ञानमा समाहित गर्दै व्यक्ति र समाजको समस्याको समाधान गर्नु योग हो । अर्काे अर्थमा मानिसको शारीरिक र मानसिक रुपमा रहेको व्याधि (रोग) लाई हटाएर सर्वथा निरोगी बनाउनु, आरोग्यता दिनु, निर्भयता, सुख शान्ति, सुरक्षा, सहिष्णुता, प्रेम, करुणा, धैर्य, विवेकवान, ओजतेज, मृत्युन्जयसम्मको योगको परिभाषा पर्दछ ।

योगको प्रकारः दत्तात्रय योगशास्त्र तथा योगराज उपनिषद् अनुसार योग ४ प्रकारका छन् ।
१. मन्त्रयोगः
मातृकारियुक्त मन्त्रलाई १२ वर्षसम्म विधिपूर्पक जप्नाले साधकलाई विशुद्ध सिद्धिहरु प्राप्त हुन्छ ।
२. लययोगः
आफ्ना दैनिक क्रियाकलापहरुलाई गर्दै सदैव ईश्वरको ध्यान गर्नु लययोग हो । ईश्वरप्रणिधानानि लययोग  हो ।
३. हठयोगः
विभिन्न मुद्रा, आसन, प्राणायाम एवं वन्धहरुको अभ्यासले शरिरलाई निर्मल एवं मनलाई एकचित्त गराउनु हठयोग हो । जो हामी दैनिक गर्छाैं ।
४. राजयोगः
यम, नियमको पालना गर्दै अभ्यासद्वारा चित्तलाई निवृत्त र निर्मल गरेर ज्योर्तिमय आत्मालाई साक्षात्कार गर्नु र समाधीसम्मको अनुभूति गर्नुलाई राजयोग भनिन्छ ।

योगको शरिरमाथि प्रभावः
जब हामी अष्टाड्ड योगको पालना गर्दै चेतना र अभ्यासको शक्तिद्वारा शरिरका शुप्त तन्तुहरु पुर्नजागरण एवं नयाँ तन्तुहरु कोशिकाहरुको निर्माण गरी योगका शुक्ष्म क्रियाहरुद्वारा सुक्ष्म स्नायु तन्त्रहरुलाई क्रियाशिल गर्दै ठीक प्रकारले रक्त संचालन गर्ने र आसन प्रणायामद्वारा शरिरका ग्रन्थी र मांसपेशीहरुमा घर्षण विकर्षण, आकुंचन, प्रसारण तथा सिथिलिकरणको क्रियाकलापद्वारा आरोग्य बनाउँछौ साथै रक्त बहन गर्ने धमनीहरु, सीराहरुलाई स्वस्थ राख्दै  प्यान्क्रियाज, पाचनतन्त्र, हृदयरोग, दम, एलर्जी, गाँठागुठी, स्वस्थ हुनको साथै योगबाट ईन्द्रियहरु एवं मनको निग्रह हुन्छ ।
यस प्रकार अष्टाड्डयोगको आधार लिएर शारीरिक, मानसिक, बौद्धिक एवं आध्यात्मिक उन्नती प्राप्त गर्दै ईश्वरसँग साक्षात्कार गरी पूर्ण आनन्दको अनुभूति प्राप्त गर्दै शरिरमा योगको सकारात्मक प्रभाव पर्दछ ।

स्वस्थ व्यक्तिको दिनचर्याः
स्वास्थ्य नै प्रमुख धन हो । स्वास्थ रहनको लागि निम्नानुसार तीन वटा आधारभूत कुराहरुको पालना गर्नुपर्दछ । कफ, पित्त, वात एवं पाचनप्रणाली, शरिरका शप्तधातुहरु, पञ्च ज्ञानेन्द्रिय सन्तुलित अवस्थामा रहँदा मात्र स्वस्थ र स्वास्थ्य रहन सकिन्छ ।
क) आहारः आहारले व्यक्तिको शरिर निर्माण हुनुको साथै हितभुक, मितभुक, ऋतुभुक अर्थात हितकारी, उचित मात्रा तथा ऋतु अनुकुल भोजन गर्नाले कफ, पित्त, वात सम अवस्थामा रहन्छ । मनुष्य शरिर साकाहारी बनोट भएकाले साकाहरी भोजन उत्तम छ ।
ख) निन्द्राः निन्द्रा ईश्वरीय विश्रामको सुखद अनुभूति हो । यो अनुभूति नहुँदा हामी अस्वस्थ हुन्छौं दैनिक ६ देखि ८ घण्टा निदाउन आवश्यक छ । राति चाँडै सुत्ने र बिहान ब्रम्हमुहूर्त अगावै उठ्नु स्वास्थ्यको लागि लाभदायक छ ।
ग) ब्रम्हचर्यः श्रृष्टिको मर्यादापूर्वक पालना गर्दै आफ्ना ईन्द्रिय एवं मनलाई भोगमा नलगाई उपयोग मात्र गर्ने र ईश्वर एवं परोपकारमा आफ्नो शक्तिलाई लगाउनु वा ब्रम्हको जस्तो आचरणमा बस्नु नै ब्रम्हचर्य हो ।

योगको ऐतिहासिक पृष्ठभूमिः
६ दर्शन सांख्य, वैसेसिक, न्याय, पूर्वामिमांसा, उत्तर मिमांसा, ४ वेद, पुराण, भागवत गीता आदि समस्त शास्त्रहरु योगसँग विमति छैनन् । जीवन जिउने कलामा शारीरिक तथा मानसिक रुपमा निरोग रहन सबै शास्त्रहरुले संकेत गरेको छ । यस लोक र परलोकका कर्मशुद्धिको लागि योगको प्रमुख भूमिका देखिन्छ । यसरी शास्त्रहरुको मत अनुसार ऋषिमुनीहरुले शैद्धान्तिक तथा व्यवहारिक ज्ञानको रुपमा योगको सुरुवात भएको र महर्षि पतञ्जली द्वारा प्रतिपादित योगलाई भारतमा सन् १९९५ देखि र नेपालमा सन् २००५ देखि यस युगका योग ऋषि स्वामी श्री रामदेवजी तथा बालकृष्णजी महाराजले सुरुवात गर्नुभएको हो । वास्तवमा योगको सृष्टि नेपालबाटै भएको प्रमाण स्वरुप नेपालभित्र रहेका हिमालय कैलाश पर्वतबाट भगवान शिवले योग सृष्टि गर्नुभएको देखिन्छ । हामी नेपाली जन्मजात योगीका सन्तान हौं । यसरी योगलाई स्वामी द्वय रामदेवजी तथा वालकृष्णजी महाराजले आजको विज्ञानसँग दाँज्दा समेत स्वभाविक देखिएकाले विश्वमा प्रख्यात छ । हाल विश्वका ६५ देशहरुमा पतञ्जली योग सञ्चालन भैरहेकोछ ।


अष्टाड्ड योग
आनन्द ब्रम्हको अंश हुनाले संसारका सम्पूर्ण प्राणीहरु आनन्द चाहन्छन् । तर त्यसको लागि प्रयत्न नगरी भौतिक संसारबाट पाउने आशामा हिँड्छन् । पूर्ण शान्ति र आनन्द प्राप्त गर्न कुनै मत, पन्थ वा सम्प्रदाय, जाति भेद, रहित जीवन जिउने सम्पूर्ण पद्धतिको सबै एक ठाँउमा अटाउन सिकाउने महर्षि पतञ्जलीद्वारा प्रतिपादित अष्टाड्ड योग नै हो । जीवनको पूर्ण सत्यसँग परिचित हुन चाहनेले जीवनको सामान्य व्यवहारदेखि समाधिसम्मको अध्यात्मको उच्चतम अवस्थाहरुको अनुपम समावेश भएको अष्टाड्ड योगको पालना गर्नुपर्दछ । अष्टाड्ड योग निम्नानुसार छन् । यम र नियम अष्टाड्ड योगको मूल आधार हुन् ।
१. यम २. नियम ३. आसन ४. प्राणायाम ५. प्रत्याहार ६. धारणा ७. ध्यान ८. समाधि
यमः    ईन्द्रियहरु एवं मनलाई हिंसा आदि अशुभ भावहरुबाट हटाएर आत्मा केन्द्रित गरीन्छ त्यसलाई यम भनिन्छ । यम ५ प्रकारका छन्ः– अहिंसा, सत्य, अस्तेय, ब्रम्हचर्य तथा अपरीग्रह ।
नियमः    योगमा अर्काे आधारभूत अड्ड नियम यी ५ किसिमका छन् । शौच, सन्तोष, तप, स्वध्याय तथा ईश्वरप्रणिधान ।
आसनः    “स्थिर सुखम् आसनम्” कुनै पनि आसनमा स्थिरता र सुखपूर्वक बस्नुलाई आसन भनिन्छ । साधकले जप उपासना र ध्यान आदि गर्नका लागि स्थिर र सुखपूर्वक लामो समय सम्म आसनमा बस्ने अभ्यास गर्नुपर्दछ ।
प्राणायामः    आसन सिद्ध भएपछि स्वास प्रश्वासको गतिलाई यथाशक्ति नियन्त्रण गर्नुलाई प्राणायाम भनिन्छ । योग दर्शन अनुसार प्राणायाम ४ प्रकारका छन् । बाह्यवृत्ति, आभ्यान्तर वृत्ति, स्तम्भवृत्ति, बाह्य अभ्यान्तर विषयपेच्छी ।
प्रत्याहारः    साधकले विवेक तथा वैराग्यले आफ्नो मनमाथि नियन्त्रण गर्दै ईन्द्रियहरुलाई आफ्नो बसमा राख्दै विमुख ईन्द्रियहरुलाई अन्तरमुखी गर्नुनै प्रत्याहार हो ।
धारणाः    जब प्रत्याहारद्वारा ईन्द्रियहरु एवं मन अन्तर्मुख भई स्थिर अवस्थामा आँउछन् स्थूल विषयलाई हटाएर सुक्ष्म लक्ष्य आत्मा–परमात्मा आदिमा केन्द्रित गर्ने वा शरिरको कुनै भित्री वा बाहिरी कुनै एक स्थानमा एकाग्र हुनुलाई धारणा भनिन्छ । धारणाको अभ्यास परिपक्व भएपछि मात्र ध्यान हुन थाल्दछ ।
ध्यानः    धारणा पश्चात ध्येयरुप परमेश्वरमा ज्ञानको सदृश प्रवाह भएर आनन्दमय, ज्योर्तिमय र शान्तिमय स्वरुपमा मग्न हुनु ध्यान हो ।
समाधिः    ध्यानद्वारा स्वयंलाई बिर्सेर जब स्वरुप शुन्यतामा आएपछि केवल परमेश्वरको आनन्दमय, शान्तिमय, ज्योर्तिमय स्वरुपको दिव्यज्ञान आलोकमा आत्मा मग्न भएर जब मानिसलाई प्रकाश स्वरुप आनन्द र ज्ञानले परिपूर्ण हुन्छ त्यो अवस्था समाधि हो ।
सूर्य नमस्कारको प्रभाव:
-    यो एक पूर्ण व्यायाम हो । यसले शरिरका सबै अड्डप्रत्यड्ड बलिष्ठ एवं निरोगी बनाउँछ ।
-    पेट, आन्द्रा, आमाशय, अग्नाशय, हृदय र फोक्सोलाई स्वस्थ राख्दछ ।
-   मेरुदण्ड, कम्मर, लचिलो बनाएर त्यसमा आउने विकृतिहरुलाई हटाउँछ ।
-    सम्पूर्ण शरिरमा रक्तसंचार गराएर रक्तअशुद्धि हटाई छालारोग निको पार्छ ।
-   हात, खुट्टा, तिघ्रा, काँध आदि सबै अड्डको मांसपेशीहरु पुष्ट एवं सुन्दर हुन्छन् ।
-    मानसिक शान्ति एवं ओज तेजको वृद्धि हुन्छ यथासक्य ११ देखि २१ पटक गर्न सकिन्छ ।
-    आन्तरिक ग्रन्थीहरु नियमित बनाउने हुँदा मधुमेह रोगीको लागि विशेष उपयोगी छ ।
-    सम्पूर्ण शरिरलाई पूर्ण आरोग्य गराई सबै अड्ड प्रत्याड्ड क्रियाशिल बनाउँछ ।
हठयोग एवं षटकर्मको जानकारी:
हठयोगको प्रणयता भगवान शिव मानिन्छन् । यस परम्परालाई कायम राख्ने गोरक्षनाथ, मच्छेन्द्रनाथ, मीननाथ, चौरड्डीनाथ, स्वात्माराम, भतृहरी आदि हुन् । सूर्य र चन्द्र नाडीको योगबाट हठयोग शब्दको निष्पन्न भएको छ । मनुष्यहरुमा २ प्रकारका शक्तिहरु छन् । १. अग्नी तथा सूर्यः बल, पराक्रम, सौर्य, विर्य आदि ।  २. सोमशक्ति वा चन्द्रः श्रद्धा, शान्ति, धैर्य, सौहार्द, प्रेम र सहानुभूति हुन । यी दुवै शक्तिहरुलाई निष्पन्न गर्नु यौगिक क्रिया हो ।
षटकर्मद्वारा मानव शरिरको शुद्धि लगायत कायाकल्प गराएर रोगमुक्त, दिर्घायु, स्वस्थ, पुष्ट एवं क्रान्तिमय यि क्रियाहरुको अभ्यासबाट २० प्रकारका कफरोग, ८० प्रकारका वातका रोगहरु र ४० प्रकारका पित्तका रोगहरु तथा कुष्ठरोग, पेट, फोक्सो, हृदय तथा मृगौला रोगका विकृतिहरु नासगरी सबैको सुस्वास्थ्यमा लाभ गराउँदछ । षटकर्म भनेको ६ कर्महरु हुन् । १. धौती २. बस्ती ३. नेती ४. त्राटक ५. नौली ६. कपालभाती यी ६ कर्महरु योग मार्गमा लागेका योगीहरुले सतत अभ्यास गर्न जरुरी छ ।

मुद्रा प्रकरणः
मुद्राहरु आसनको विकसित रुप हुन । ब्रम्हाण्ड तथा मनुष्य शरिर पञ्च तत्वद्वारा निर्मित छ । हाम्रो हातको ५ औंलाहरुले पञ्चतत्वको प्रतिनिधित्व गर्दछ । अंगुष्ठाले अग्नी, तर्जनीले वायु, मध्यमाले आकाश, अनामिकाले पृथ्वी र कनिष्ठाले जल तत्व प्रतिनिधित्व गरेको हुन्छ । मुद्रा विज्ञान अनुसार यि ५ तत्वहरुको समन्वयले शरिरका आन्तरिक ग्रन्थीहरु, अवयवहरु तथा उनीहरुका क्रियाले सुषुप्त शक्तिहरुलाई जातृत गरी दिन्छ । कुनै पनि आसनमा बसेर वा हिँड्दा, डुल्दा, बस्दा, उठ्दा प्रतिदिन १० मिनेटबाट प्रारम्भ गरेर ३० देखि ४५ मिनेटसम्म मुद्रामा रहनाले पूर्ण लाभ हुन्छ ।
प्रमुख मुद्राहरुलाई २ शिर्षकमा बाँडिएको छ ।
-    तत्वहरुका नियमन गर्ने हस्त मुद्राहरु जम्मा ११ प्रकार छन् ।
-    प्राणोस्थान र कुण्डलिनी जागरणमा सहायक मुद्राहरु जम्मा १२ प्रकार छन् ।

पहिलो ११ मुद्राहरुः
१. ज्ञान वा ध्यान २. वायु ३. शून्य ४. पृथ्वी ५. प्राण ६. अपान ७. अपानवायु ८. सूर्य ९. बरुण १०. लिड्ड ११. धारणा शक्ति
दोश्रो १२ प्रकारका मुद्राहरुः
१. भुचरी २. खेचरी ३. अश्विनी ४. योनी (पारड्डमुखी) ५. उन्मनी ६. शक्ति चालिनी ७. विपरितकरनी ८. योगमुद्रा ९. महामुद्रा १०. त्रिवन्ध ११. ब्रम्हमुद्रा १२. अग्निसारक्रिया

एक्युप्रेसर चिकित्सा पद्धति :
एक्युप्रेशर शब्दको अर्थ हो दबाब । शरिरका निश्चित विन्दुहरुमा आवश्यक दबाब दिएर विविध रोगहरुको उपचार चमत्कारिक रुपमा गरिन्छ । हात र खुट्टामा अवस्थित मुख्य केन्द्र विन्दुमा दबाब दिएर रक्त संचार गर्ने नाडीहरु, स्नायु संस्थान, ग्रन्थीहरुलाई उर्जा एवं आरोग्य प्रदान गरिन्छ । यो हानी रहित पद्धति हो ।

एक्युप्रेशरको समय:
कुनै पनि समय एक्युप्रेसर गर्न सकिन्छ तर आमाशय, आन्द्रा, कलेजो र पित्तासय रोगमा प्रेशर दिनु छ भने खानु भन्दा पहिला वा खाएको २/३ घण्टा पछि मात्र दिनु पर्दछ । प्रेशरअवधी रोगको प्रकृति अनुसार ३० सेकेण्ड देखि लिएर २ मिनेट सम्म एक केन्द्रमा दबाब हाल्नु पर्दछ । दिनमा बिहान बेलुका २ पटक प्रेसर दिनु पर्दछ । विशेष दुखाईको अवस्थामा ३ पटक पनि प्रेशर दिन सकिन्छ ।


कायाकल्प क्रिया (शंखप्रक्षालन वा शंख धौती):
हाम्रो पेटमा रहेका आन्द्राको आकृति शंखाकार छ । यो आन्द्रा ३२ फिट लामो हुन्छ । यसलाई शुद्ध गर्नु अथवा सफा गर्नुलाई शंखप्रक्षालन भनिन्छ । यसबाट भयड्ढर जिर्ण रोगहरु, पेटका रोग, मोटोपन, उच्च रक्तचाप, मधुमेह, धातुरोग आदि सबै पेटभित्रका रोगहरुमा लाभ पु-याउँछ । यसको सफाई हुन सकेन भने आन्द्राका भित्ताहरुमा सुक्ष्म मलको पत्र जम्न जान्छ र रसहरु अवसोषण र निस्कासन गर्न सक्तैन जसले गर्दा मग्नादी, अपच, अमिलो डकार, पेटमा दुर्गन्धी, ग्याष्ट्रिकको रोग उत्पन्न भई मूख्य यन्त्र नै विकृत हनु जान्छ र सहायक यन्त्र आमासय, अग्नासय समेतमा प्रभावित भई रोग निम्त्याउँछ ।


सियाटिका आदिको लागि मुख्य आसन र मेरुदण्ड कम्मर दुःखाईको निमित्त विशेषासनहरुमा :
१. चक्राशन २. सेतुबन्ध, मर्कट, कट्टीउत्तानासन, मकरआसन, भुजड्ड, धर्नुर, पूर्णधर्नुआसन, सलभासन, विपरीत नौकासन, उष्ट्रासन, अर्धचन्द्राशन, शिर्शासन आदि छन् ।

योगका विविध पक्ष:
योग र शरीर एक अर्काका परिपुरक हुन । अज्ञान तथा अल्छी शरिरलाई योगको अनुशासनले उर्जा, उत्साह, दिशाबोध गराएर अन्ततः समाधि सम्म पु-याउँदछ । “शरिरमाध्यम खलु धर्मसाधनम्” शरिरमाध्यमबाटै आफ्नो लक्ष प्राप्ती गर्न सकिन्छ । तसर्थ शरिरलाई योग अभ्यासबाट साधकले हिंसा चाहँदैन र आश्चर्यजनकरुपबाट इन्द्रियहरुलाई निग्रह गर्दछ । मन मस्तिष्कबाट दायित्वबोध, आत्मबोध, समाजसेवाबोध गरी आफ्नो लक्षमा पुग्न सकिन्छ ।

स्वास्थ परक निर्देश:
भोग देखि योगसम्म सफल जीवन बनाउनका लागि स्थुल शरिरलाई सम्वद्र्धन र नियन्त्रण नियमतः अनिवार्य छ । योग चर्याले सर्वप्रथम हाम्रो अन्नमय स्थूल शरिरलाई नियमित एवं उर्जावान बनाउँछ । उत्तम स्वस्थ जीवन दुनियामा सबभन्दा उत्कृष्ट सौगात हो । मनुष्यको शारीरिक तथा मानसिक आध्यात्मिक तीनै क्षेत्रबाट सम्यक नभइकन स्वस्थ रहन सक्तैन । आहार, निन्द्रा, ब्रम्हचर्य यी तीन कुराबाट शरिर स्वस्थ हुनुको साथै आहार, विहार, विचार, व्यवहार, कर्मको सुचेष्टा तथा स्वास्थ्यको लागि उचित समयमा सुत्नु र उठ्नु स्वास्थ्य फलिभूत हुन्छ ।

तनाव उत्पत्ति कारण एवं प्रभाव:
आजको भौतिक युगमा मनुष्यहरुलाई सामाजिक परिवर्तन, आर्थिक परिवर्तन, राजनैतिक परिवर्तन, धार्मिक पक्षको अभाव तथा वातावरणीय असन्तुलनका कारणहरुले गर्दा हामीमा तनाव उत्पन्न हुन्छ । समस्त रोगहरु उत्पन्न हुने कारण तनाव हो । तनाव जनित विभिन्न रोगहरु उत्पन्न हुन्छन् जस्तै उच्च रक्तचाप, मधुमेह, हृदयरोग, पेटको रोग, कोलेष्ट्रोलको अनियमितता लगायत मानसिक र शारीरिक रुपमा अन्य विकृतिहरु उत्पन्न हुन गएर तनाव हर्माेनहरुको असन्तुलन हुन्छन् । तनावले शरिरका विभिन्न क्षेत्रमा असर पार्दछ ।
१. हृदयगति बढ्छ २. रक्तचाप बढ्छ ३. मांसपेशीमा प्रभाव पर्छ ४. स्वासगति बढ्छ ५. अक्सीजनको खपत ज्यादा हुन्छ ६. मुटुको धमनीमा रक्त प्रवाहको गति परिवर्तन हुन्छ ७. रक्त संचालन छिटो–छिटो हुन्छ ८. सिरम कोलेष्ट्रोल बढ्छ ९. पेटमा अमलपित्त बढ्छ १०. -यालग्रन्थीहरु सुक्छन् साथै छालामा परिवर्तन आउँछन् ।

तनाव हर्माेन पर प्राणायामका प्रभाव:
आजको भौतिक युगमा हर कार्यमा सर्वत्र तनावहरु पैदा भई रहन्छन् । तनावका कारण शरिरमा नकरात्मक हर्माेनहरु वृद्धि हुन्छन् । विचारमा पनि नकारात्मक प्रभाव पर्दछ । मन, मस्तिष्कमा प्राणायामको अभ्यासहरु दैनिक गरिने प्राणायामले सकारात्मक हर्माेनहरु उत्पादन गरी शरिरलाई स्वस्थ राखी तनाव रहित गराउँछ ।


योग गरौं निरोग रहौं



आयुर्वेदको परिचयः
श्रृष्टिकालको सुरुदेखिनै आयुर्वेदको आविस्कार भएको हो । तसर्थ आयुर्वेद केहो? आयुष+वेदको शब्द मिलनबाट बनेको छ । आयुषको अर्थ जीवन वेदको अर्थ ज्ञान विज्ञान हो । जीवनसँग सम्बन्धित विज्ञान भएकाले जीवन जीउनको लागि सबै प्रकारको आवश्यक ज्ञान चिकित्सा स्वास्थ्य र रोग दुबैको लागि आयुर्वेद आवश्यक छ । विश्वका सम्पूर्ण प्राणी दुःख होईन आनन्द चाहन्छन् । भाक, प्यास, नीद, आदि एवं शारीरिक रोगबाट छुटकारा पाउन प्रयत्नशिल रहन्छन् । यो क्रम पुरा गर्न आयुर्वेदको श्रृष्टि भयो । अचेल एलोपेथी, होमियोपेथी, नेचुरोपेथी, प्राकृतिक चिकित्सा, रेकी अनेक प्रकारका चिकित्सा पद्धति प्रयोगमा छन् । तर आयुर्वेदिक पद्धति सरल र सहज प्राप्त हुने भएकाले हाम्रो मन मष्तिष्कमा बसेको छ । आयुर्वेद प्रत्येक घरको भान्साबाट सुरु हुन्छ । हाम्रो शारीरिक, मानसिक, आध्यात्मिक कल्याणका लागि आयुर्वेदको आवश्यकता पर्दछ । आयुर्वेदमा सबै सुखी निरोगी रहुन भन्ने भाव देखिन्छ । आयुर्वेद सिद्धान्त व्यक्ति, जाति देशमा मात्र सिमित नभएर सबै जगतको सार्वभौमिक औषधि भएको हुनाले यो सत्य सावित छ । सबै वनस्पति औषधि, सबै अक्षर मन्त्र भन्ने भावार्थमा मिल्न जान्छ ।

आयुर्वेद चिकित्साको विशेषताः
आयुर्वेद चिकित्सा पद्धति भनेको हाम्रो पिता पूर्खा ऋषिमूनीहरुबाटै निरन्तर चल्दै आएको प्राकृतिक वनस्पती र पशुजन्य तथा रसायनिक पदार्थद्वारा रोगको उपचार हुँदै आएको पद्धति हो । यसमा हाम्रा ऋषिमूनीहरुको सयकडौं वर्षको अनुभव देखिन्छ । आयुर्वेद औषधिहरुको मूलश्रोत भनेको हाम्रै घरआँगनमा प्राप्त हुने प्राकृतिक वनस्पति तथा पशुजन्यबाट प्राप्त हुन्छ । जस्तै सबै वनस्पति पहिचान पछि औषधि र गोमुत्र, दुध, घिउ, प्राकृतिक रसायन आदि श्रोत हुन्छन् । आधुनिक एलोपेथीक औषधि उपचार खर्चिलो र साईडइफेक्ट हुने गर्दछ । आयुर्वेदिक औषधिले भने शारिरीक र मानसिक रोग हटाएर निरोगीलाई पोषण दिने कार्य गर्नको साथै साईडईफेक्ट आदि हुन दिदैंन । एलोपेथिक औषधिबाट एक रोगको उपचार गर्दा अर्काे रोग उत्पन्न हुने गर्दछ जस्तो वातको उपचार गर्दा पित्त बढ्छ कफको उपचार गर्दा वात–पित्त बढ्छ । त्रिदोष र शप्तधातुमा समेत खराव गर्दछ तर आयुर्वेदिक चिकित्सा पद्धतिबाट एकको उपचार गर्दा अर्काे तर्फ हानी नहुने र निरोगीलाई पोषण समेत दिन्छ । जस्तै च्यवनप्रास, चन्द्रप्रवावटी, गोदुध, गो–घीबाट स्वस्थ व्यक्तिको पोषण हुन्छ ।

आयुर्वेदका विषय क्षेत्रः
आयुर्वेदको सम्बन्ध केवल मनुष्यसँग मात्र सम्बन्ध नभएर पशुजगत, वृक्षसँग पूर्णरुपमा सम्बन्धित रहेको हुन्छ । जस्तो अश्वआयुर्वेद, -घोडासँग सम्बन्धित_ गज आयुर्वेद -हात्ती_, गौ आयुर्वेद -गाई_ तथा वृक्ष आयुर्वेद -बोटविरुवा_ हुन्छन् । यसलाई ८  भागमा विभाजन गरी उपचार पद्धति उल्लेख छ । १. कायाचिकित्सा औषधि सेवनबाट २. शल्यचिकित्सा चिरफारबाट ३. सालक्य चिकित्साः कण्ठ, आँखा, नाक, कान, घाँटी, मुख, शिर एवं गर्धनमा विधिपूर्वक एकुप्रेसर मालिस अभ्यासबाट गरीने उपचार ४. अगदतन्त्रः विषबाट हुने रोगको उपचारमा विष वमन गराएर हुने उपचार ५. भूत विद्याः मानसिक रोग तथा ग्रहसँग सम्बन्धि पद्धति ६. बाल तन्त्रः बालउपचार विधि खेलाएर, चलाएर, मनोरञ्जन दिएर ७. रसायन तन्त्रः शरिर पुष्ट हुने तत्व सेवन गरेर जस्तो चेवनप्रास ८. वाजीकरण तन्त्रः शुक्र वृद्धि तथा शुक्रसँग सम्बन्धि चिकित्सा जस्तो यार्चागुम्वा, ज्वानु ।
यी माथिका उपचार विधिहरु परम्परागत भएतापनि हाल केवल कायाचिकित्सा, रसायन चिकित्सा, वाजिकरण तन्त्र विधिहरु मात्र प्रयोगमा छन् ।
पञ्चमहाभूत और आयुर्वेदः
आयुर्वेद प्राचिन ग्रन्थ वेदबाट उद्भव भएको हो । विशेष गरेर अथर्व वेदबाट आयुर्वेद उप–वेद बनेको हो । कुनै पनि वनस्पतिजन्य आयुर्वेद वनस्पतिमा पञ्चमहाभूत विद्यमान छन् तसर्थ एक अर्काका परिपूरक छन् । यि निम्नानुसार उल्लेख छन् ।
१. आकाशिय द्रव्यः
    अदृष्य खाली ठाँउ नै आकाश हो । यो हल्का, मूलायम, सूक्ष्म, समतल र शब्द गुणबाट युक्त हुन्छ । यसको सेवनबाट शरिरमा कोमलता, चञ्चलता । छिद्रता धेरै मात्रामा हुन्छ ।
२. वायव्य द्रव्यः
सितल, रुखो, सुक्ष्म तथा स्पर्स गुणबाट युक्त हुन्छ । यसको सेवनले शरिरको गति एवं फूर्तिलोपन आउँछ ।
३. तेजस द्रव्यः
    रुप गुणबाट युक्त गर्मी, तिक्ष्ण, सूक्ष्म, हल्का हुन्छ यसको सेवनबाट जलन, पाचन, तेज, चमक र रड्डरुप वृद्धि हुन्छ ।
४. आप्य वा जलिय द्रव्यः
    तरल, ठण्डा, कोमल, आनन्दको वृद्धि हुन्छ ।
५. प्रार्थिव द्रव्य पृथ्वी

    भारी, दृढ, स्थूल, ठोष र गन्धबाट पूर्ण हुन्छ । यसको सेवनबाट शरिरमा मोटोपना, दृढता, वजन स्थुलता वृद्धि हुन्छ ।
उपरोक्त पञ्चमहाभूत मध्ये त्रिदोष, शप्तधातु तथा मल आदि तत्व मध्ये सम अवस्थामा राख्नको लागि यि अधिक वा कम सेवन गरी दोषहरु सन्तुलन अवस्थामा राख्नु पर्दछ ।

त्रिदोष वात–पित्त–कफ
दोष धातु मल तीन तत्वको मेलबाट हाम्रो शरिर बनेको छ । वात–पित्त–कफलाई त्रिदोष भनिन्छ । उत्पत्ति तथा विनासको कारण पनि यही तत्व हो । यही त्रिदोषको सम अवस्थाबाट बनेको रजबीजले शरिर बनेको छ । शरिर स्वस्थ राख्नको लागि त्रिदोषको बारेमा जान्न अत्यन्त आवश्यक छ । यी त्रिदोषहरु बढी, घटी नभई सम अवस्थामा रहँदा मात्र हामी स्वस्थ निरोगी रहन सक्छौं । त्रिदोष सम नरहँदा रोग जन्मन्छ । धातु तथा मलको अवस्था पनि विग्रन्छ र रोग पैदा हुन्छ । त्यसैले यसलाई त्रिदोष भनिन्छ । यसको प्रभाव सम्पूर्ण शरिरमा मनको प्रभाव जस्तै हुन्छ । मन नड्ड र कपालमा पुग्दैन तर त्रिदोष सबमा पुगको हुन्छ । वायुको महत्व अधिक छ वायु विना कफ–पित्त पड्डु हुन्छ । वायु पित्तसँग आउँदा दाह÷उष्णता हुन्छ भने वायु कफसँग आउँदा नरम (गिलोपना) हुन्छ । ५ वायु तथा ५ उपवायु छन् । वायुको (वात) कारण ८० प्रकारका रोग लाग्न सक्छन्, पित्तको कारण ४० रोग र कफको कारण २० रोग लाग्दछन् ।

दोष और पञ्चमहाभूतः
वायु–पित्त–कफ त्रिदोष हुन । वायुको प्रमुख महाभूत आकाश हो । पित्तको महाभूत तेज वा अग्नी हो । कफको महाभूत जल वा पृथ्वी हो । यि त्रिदोषका आश्रयस्थानमा १. वायुकोः नाभी भन्दा तलका भाग पेट आन्द्रा, कम्मर, जाँघ, खुट्टा, ह¸ी हुन । २. पित्तकोः छाती वा नाभीको मध्यभाग पसिना, लसिका रगत तथा पेट हुन ३. कफः घाँटी भन्दा माथिको भाग कण्ठ, शीर, गर्धन, हड्डीको जोर्नी पेटको माथिल्लो भाग र शरिरको सम्पूर्ण धातुहरु हुन ।
यि त्रिदोषहरु सधैं एकैनासले रहन सक्तैन । अनुकुल र प्रतिकुल अवस्था आई रहन्छ । त्रिदोषहरु मुख्यतयाः मानसिक भावदसा, आहार, विहारको प्रतिकुलता, ऋतुहरुको परिवर्तन आदि कुराहरुमा सावधानी रहनुनै त्रिदोषहरुलाई स्वस्थता (सम) प्रदान गर्नुहो ।

शरिरको शप्तधातुहरुः
हाम्रो शरिर निर्माणको लागि सप्तधातुको महत्वपूर्ण स्थान छ । सप्तधातुहरु निम्न प्रकारका छन् । यी धातु सन्तुतिल अवस्थामा राख्नु पर्दछ नभएमा हाम्रो शरिरमा विकार पैदा हुन्छन् । रस -लसीका_, रगत -हेमोल्गोविन_, मासु -तन्तु_, बोसो -मेद_, हड्डी अस्थी, मज्जा -मासी_ बन्छ, रगतबाट मासु बन्छ, मासुबाट बोसो -मेद_ बन्छ, बोसोबाट हड्डी -अस्थी_ बन्छ, हड्डीबाट मज्जा -मासी_ बन्छ, मासीबाट रजवीज -शुक्रकिट, अण्डकोष_ बन्दछ ।


भोजनको आचारसंहिता
शरिर स्वस्थ राख्नको लागि भोजनको आचारसंहिता पालन गर्नुपर्दछ । भोजन कस्तो खाने< किन खाने< कुन समय खाने< कति खाने< यी कुरा महत्वपूर्ण छन् ।
यस बारे निम्न उल्लेख गरिएको छ ।
–   चिल्लो पदार्थ सहितको भोजनः भोजनमा घिउ तेल उचित मात्रामा हुनु पर्दछ । उचित चिल्लो भोजनले खाना स्वादिष्ट, रुची बढ्छ, मुलायम हुन्छ, अग्नी तिव्र भई सुपाच्य हुन्छ, बल वृद्धि हुन्छ, ईन्द्रिय तथा अन्य अड्डहरु बलवान हुन्छन्, वायुमा सन्तुलन हुन्छ, मल निस्काशन सजिलो हुन्छ, जोर्नीहरुलाई सवल बनाउँछ ।
–    ताजा र गरम भोजनः बासी तथा चिसो खानाबाट शरिरमा तामसिपन अस्वस्थकर र अपौष्टिक हुने भएकाले भोजन सधैं ताजा तथा गरम हुनुपर्छ । जसले गर्दा पौष्टिक र स्वादिष्ट हुनको साथै पाचक र वायु विकार रहित हुन्छ ।
–    भोजनको सुन्दरताः भोजन दृष्टिपात गर्दा आकर्षक र सुन्दर हुनु पर्दछ । स्वच्छ, सफा, आकर्षक रड्ड, गन्ध, स्वाध तथा स्पर्ष सहित रुचीकर हेर्दै खेरी मुखमा पानी (रस) आउनु पर्दछ ।
–    सफा सुन्दर तथा एकान्त स्थानः भोजन गर्ने स्थान सफा, सुघ्घर, सुन्दर, आकर्षक तथा भोजन गर्दा पाचन शक्तिमा विपरित प्रभाव पर्छ । भोजन समयमा मनलाई एकाग्र गरी रेडियो, टिभि, फोन आदि कुराकानीबाट रहित भएर शान्त अवस्थामा खानाको स्वाद लिनु पर्दछ ।
–    मानसिक -अवस्था_ दशाः भोजन हमेसा शान्त र प्रशन्न भएर ग्रहण गर्नुपर्दछ । भोजनको समयमा कुनै प्रकारको अप्रिय चर्चा सुन्न र गर्न हुँदैन । क्रोध, इस्र्या, द्वैष, चिन्ता, घवराहट, डर आदि मानसिक दशामा कहिलेपनि भोजन गर्नुहुँदैन । यस अवस्थामा भएको भोजनबाट पाचन रसका श्राव ठीक संगले हुन पाउँदैन ।
–    भोजनको उचित समयः खाना सधैं नियमित समयमा खानु पर्दछ । पहिला खाएको खाना राम्ररी पचि सकेको हुनुपर्दछ । खानु अगाडि मलमुत्रको त्यागभै सकेको हुनुपर्दछ । बिहान बेलुका हल्का खाना खानु पर्दछ र मध्यान्नमा १२ देखि १४ बजे पर्याप्त उचित मात्राको भोजन ग्रहण गर्नुपर्दछ ।
–    भोजनको मात्राः पोशक तत्व सहितको उचित मात्राको खाना खानु पर्दछ । पेटमा एक तिहाई भाग अवश्य खाली राख्नुपर्दछ  । अर्थात भोजनको मात्राको निर्णय स्वयं आफ्नो प्रकृति, उमेर, क्षमता, पाचन अग्नी शक्ति, अनुसार मात्रा निर्धारण गरी अनुकुल मात्रामा ग्रहण गर्नुपर्दछ ।
–    भोजन चपाएर खानु पर्दछः भोजन गर्दा राम्ररी चपाएर खाँदा मुखबाट पाचन रस पर्याप्त आउने हुँदा सुपाच्य हुन जान्छ । यसको विपरित ठीक प्रकारले चपाएर नखाँदा परिणाम स्वरुप आमाशयमा नराम्रो असर परी पुरा पाचन हुन नसकेर अजिर्ण, कब्ज, ग्याँसजस्ता रोग उत्पन्न हुन्छन् । भोजन गर्दा सबै नियमको पालन गर्दा शरिर पुष्ट, धातुहरुको स्वस्थ अवस्था तथा निस्काशन प्रणाली राम्रो हुन्छ । जस्तोसुकै व्यस्त अवस्थामा खाना खाने समय व्यक्तिगत कार्य सम्झेर सुरक्षित राख्नु पर्दछ ।
–    भोजनको अनुकुलताः शारीरिक अनुकुलताको आधारमा देश, पदार्थ, रोग आदिको मध्यनजर गरी मनुष्य ज्ञानको अभ्यास अनुसार पुरै पोषक तत्व सहितको उचित अनुकुल भोजन गर्ने गर्नुपर्दछ ।


विरुद्ध आहारको उदाहरण
सुपाच्य हितकारी खानाले स्वास्थ्यमा रक्षा गर्छ । दोषहरु पनि सम अवस्थामा राख्छ भने अपाच्य र अहित आहारको सेवनले स्वास्थ्यलाई विकार पैदागरी दोषलाई पनि प्रकोपित गर्दछ । सबै खाना सबैको लागि हितकारी हुँदैन शारीरिक अवस्था अनुसार फरक पर्दछ । निम्न उल्लेखित विरुद्ध आहार गर्नाले विभिन्न रोगहरु उत्पन्न हुन्छन् । छाला रोग, सेतो दाग, पिनास, रक्त अल्पता, मन्दाग्नी, मुर्छा, अम्लपित्त, पागलपन, नपुंसकता, अन्धोपन, सन्तान विकारको साथै मृत्यु समेत हुन सक्छ ।
–    देशको दृष्टिबाट बिरुद्ध आहारः भौगालिक अवस्था अनुसार हिमाल, पहाड, तराई विभिन्न प्रकृतिको भिन्न भिन्न खाने कुराको प्रयोग गर्नुपर्दछ । जस्तो हिमालमा सातु लगायत गर्मी पैदा गर्ने खाना खानु पर्दछ ।
–    काल वा मौषमको दृष्टिबाट विरुद्ध आहारः मौषम अनुसारको खाना खानु पर्दछ (हितमुक–भितमुक–ऋतभुक)
–    पाचक अग्नीको दृष्टिबाट आहारः मन्द अग्नी भएको व्यक्तिले धेरै चिल्लो, चिसो पदार्थ खानु हुँदैन ।
–    मात्राको दृष्टिबाट आहारः बराबर मात्रामा मह र घ्यू सेवन गर्नु विरुद्ध आहार हुनेछ ।
–    अनुकुलताको दृष्टिबाट आहारः सधै भात खाने अभ्यास भएको व्यक्तिलाई गहँु, जौ, विरुद्ध आहार पनि हुनसक्छ ।
–    दोषको दृष्टिबाट आहारः वायु प्रकृति भएकाले वायुवर्दक पदार्थ नखाने, कफ प्रकृति भएकाले कफवर्दक पदार्थ नखाने ।
–    संस्कार वा पाकको दृष्टिबाट आहारः अमिलो पदार्थलाई तामाको भाडामा पकाएको खानु हुदैँन ।
–    शारीरिक अवस्थाको दृष्टिका आहारः धेरै मोटो व्यक्तिले घिउ, मख्खन, तेल, खानु हुँदैन । पातलो मानिसले रुखो र हल्का खाना खानु हुँदैन ।
–    कर्मको दृष्टिबाट आहारः नित्यकर्म अघि, भोकलाग्नु अघि, भोकलाग्दा नखानु यी सबै विरुद्ध आहार हुन ।
–    पकाईको दृष्टिबाट भोजनः दुषित इन्धनले पकाएको, ठीक प्रकार नपाकेको, धेरै पाकेका वा कम पाकेको भोजन विरुद्ध आहार हुन्छ ।
–    संयोगको दृष्टि आहारः दुधको साथ अमिलो, खरवुजा, तरवुजा विरुद्ध आहार हुन्छ ।
–    रुचीको दृष्टिबाट आहारः रुचीकर भोजन पनि अघाएको समयमा खानु, मिठो नलाग्ने भोजन विवसता बस खानु पनि विरुद्ध आहार हुनेछ ।
–    गुणको दृष्टिबाट आहारः रस रहित, रस नष्ट, विकारयुक्त खानाहरु विरुद्ध हुन् ।
–    विधिको दृष्टिबाट आहारः भोजन सम्बन्धि आचारसंहिता पालन गरेर मात्र सेवन गर्ने ।



योग गरौं निरोग रहौं



प्राणको अर्थः–
जसको अधिनमा सम्पूर्ण जगत अडेको छ, जो ईश्वर हो, जसमा सम्पूर्ण ब्रम्हाण्ड रहेको छ । त्यहीनै प्राण हो । प्राण औषधि हो, प्राण माता पिता आचार्य हो, प्राण वायु रुद्र आदित्य हो र प्राण नै साक्षात ब्रम्ह हो । प्राण नै दैवी शक्तिको प्रथम श्रोत हो ।
प्राणको महत्वः
अखिल ब्रम्हाण्डमा सर्वाधिक शक्तिशाली एवं उपयोगी जीवनी तत्व शरिरको कण कणमा व्याप्त अदृष्य शक्ति हो । हाम्रो भौतिक शरिर र त्यसमा स्थित कर्मेन्द्रिय आदि विश्राम लिन्छन् भने प्राण शक्ति अविछिन्न रुपमा कार्य गरिरहन्छ चरैवेति चरैवेति यही यसको मूल मन्त्र हो । जब प्राण शक्तिले काम गर्न छोड्छ त्यो मृत अवस्था हो । त्यसैले प्राण नै सबै थोक हो ।
प्राण साधनाः
प्राणको मुख्य द्वार नासीका हो । प्राण नासिकाको दुवै छिद्रबाट आउने र जाने गर्दछ । स्वासभित्र लिनुलाई पुरक, स्वास बाहिर फ्याक्नुलाई रेचक, स्वासलाई रोक्नुलाई कुम्भक भनिन्छ भने स्वास बाहिर फ्याकेर बाहिरै रोक्नुलाई बाह्यकुम्भक र स्वास भित्र भरेर भित्रै रोक्नुलाई अन्तःकुम्भक भनिन्छ । प्राणलाई आफ्नो नियन्त्रणमा लिई रोक्ने, छाड्ने क्रियालाई प्राणायाम भनिन्छ । प्राण भनेको केवल वायुमात्र नभई ईश्वरीय जीवनी शक्ति प्रकृतिमा व्याप्त र सदा विद्यमान रहेको हुन्छ । जसलाई ईश्वर, न्यम, खुदा जे नामबाट पुकारे पनि परम शक्ति एउटै हो । जीवनी शक्ति सर्वत्र व्याप्त र सदा विद्यमान शक्तिसँग जोडिएर प्राणायामको अभ्यास गर्नुनै प्राण साधना हो ।

प्राणायामको महत्व लाभ तथा नियम
हाम्रो भौतिक शरिर शप्तधातु, त्रिदोष, मूलतत्व–पञ्चमहाभूतमा विकाररुपी रोग उत्पन्न हुन्छन् । ती शप्तधात्वाग्नी, पञ्चभुताग्नी, जठाराग्नी समेत १३ अग्नीहरु निरन्तर जगाई राख्नको लागि दैनिक गरिने प्राणायामको वैज्ञानिक विधि र प्रकृयाद्वारा रोगलाई निराकरण गर्ने प्राकृतिक सरल शारीरिक उपचार विधि भएकाले प्राणायामको प्रमुख भूमिका छ । प्राण नै माता, पिता, भ्राता, गुरु, ब्रम्ह, ईश्वर, अमृत, सर्वस्व आदि सबै प्राण हो ।

प्राणको प्रकारः
प्राण साक्षात ब्रम्हको प्रकृतिरुपी मायाबाट उत्पन्न भएको शक्ति हो । यसलाई एउटै शब्दमा प्राणवायु भनिए पनि यो ५ प्रकारका प्राण वायु र ५ प्रकार उप–प्राण वायु छन्  ।
१. प्राणवायुः
शरिरको कण्ठदेखि हृदयसम्म जुन वायुले कार्य गरिरहेको छ त्यसलाई प्राणवायु भनिन्छ । यो प्राण नासिका मार्ग, कण्ठ, स्वरतन्त्र –गला– वाक ईन्द्रिय, अन्न नलिका, श्वरतन्त्र, फाक्सो र हृदयलाई क्रियाशिलता गराई शक्ति प्रदान गर्दछ । यसमा नाग उप–वायु र चक्रमा अनाहत तथा तत्वमा वायुसँग सम्बन्धित छ ।



२. अपान वायुः
नाभी भन्दा मुनी मूलाधार सम्म जुन वायुले कार्य गरीरहेको छ त्यसलाई अपान वायु भनिन्छ । यसको कार्य मल, मुत्र बीज, –शुक्र– गर्भनिसारण आदि क्रिया अपान वायुले गर्दछ । यसमा कुर्म, उप–प्राणवायु र चक्र मूलाधार तथा तत्व पृथ्वीसँग सम्बन्धित छ ।
३. उदान वायुः
कण्ठबाट माथि शीर सम्म रहने क्रियाशिल हुने वायुलाई उदान वायु भनिन्छ । यसले गर्ने कार्य घाँटीदेखि माथि समस्त अड्ड, नेत्र, नाक, मुखमण्डल पिट्युटरी ग्रन्थी सहित पुरै मस्तिष्कको गतिशिलता प्रदान गर्दछ । यसमा देवदत्त उप–वायु र चक्र विशुद्धि तथा तत्व आकाशसँग सम्बन्धित छ ।
४. समान वायुः
हृदय देखि मुनी नाभीसम्म क्रियाशिल रहने वायुलाई समान वायु भनिन्छ । यसले गर्ने कार्य कलेजो, पेट, फियो, अग्नासय सहित सम्पूर्ण पाचन तन्त्रको आन्तरिक कार्य प्रणाली तथा नियन्त्रण गर्दछ । यसमा क्रिकल उप–प्राणवायु र चक्र मणिपुर तथा तत्व अग्नीसँग सम्बन्धित छ ।
५. व्यान वायुः
यो वायु शरिरको सम्पूर्ण भागमा व्याप्त छ । यसले गर्ने कार्य शरिरको समस्त गतिविधिको नियमित तथा नियन्त्रित गर्दछ । यसले शरिरका सम्पूर्ण अड्ड, मांसपेसी, तन्तु, जोर्नीहरु, नसनाडीहरुलाई क्रियाशिलता, उर्जा एवं शक्ति प्रदान गर्दछ । यसमा धनंजय उप–प्राणवायु र चक्रमा स्वाधिष्ठान तथा तत्व जलसँग सम्बन्धित छ । यसको अतिरिक्त हाम्रो शरिरमा ५ वटा उप–प्राण वायुहरु छन् । यिनको नाम तथा कामहरु निम्न प्रकार छन् ।
१. देवदत्तः यो वायुले छिंकना –हाछ्यौं– गर्ने कार्य गर्दछ ।
२. नागः यसले पलक झप्काउने –आँखा झिम्काउने– काम गर्दछ ।
३. कृकलः जँभाई लेना –यो वायुले हाई आउने– काम गर्दछ ।
४. कूर्मः यो वायुले चिलाएको ठाँउमा कन्याउने काम गर्दछ ।
५. धनन्जयः यो वायुले हिचकी लेना –हिक्क हिक्क आउने– क्रिया गर्दछ ।

शरिरका सन्निहित शक्तिकेन्द्र वा चक्रः
मानव शरिरमा अवस्थित विभिन्न प्रकारका चक्रहरु अद्भूत शक्तिको रुपमा रहेका छन् । यि सबै चक्रहरु मेरुदण्डको मूलबाट सुरु भएर माथिल्लो भागसम्म पुगेको छ । साधारण अवस्थामा यि चक्रहरु  अधोमुख भएर रहेको हुन्छ । यी चक्रहरुलाई उध्र्वमुख –विकसित– गराउनको लागि ब्रम्हचर्यको पालना, प्राणायाम एवं ध्यान तथा यौगिक विधिद्वारा जगाएर अलौकिक शक्ति उत्पन्न गराउन सकिन्छ । चक्रको बारेमा अथर्व वेदको १०–२–३१ को भनाई छ ।
अष्टाचक्रा नवद्वारा देवानां पुरयोध्या ।
तस्यां हिरण्यमः कोशः स्वर्गाे ज्योतिषावृत्तः ।।
मनुष्य शरिर देवनगरी अध्योध्यारुपी र ८ चक्र तथा ९ द्वारहरु छन् ।
यी निम्न प्रकार छन् ।
१. मूलाधार चक्र २. स्वाधिष्ठान चक्र ३. मणिपुर ४. हृदय ५. अनाहत ६. विशुद्धि ७. आज्ञा ८. सहश्रार तथा दुई आँखा, २ नाक, २ कान, मुख, गुद्वार र उपस्थ ।
योगको अभ्यास द्वारा साधकहरुले यो हिरण्यमय कोषको रुपमा रहेको अन्तः अपरिमित, असिम, सुख शान्ति, आनन्द एवं दिव्य ज्योतिप्राप्त गर्न सक्दछन् । निम्नानुसार यसको अवस्था व्याख्या गरिन्छ ।
–    मुलाधार चक्रः यो चक्र गुदादेखि २ अमल माथि उपस्थ देखि २ अमल तल रहेको हुन्छ । यो मूल शक्तिको श्रोत अर्थात आधार चक्र हो । सबै भन्दा पहिला यो चक्र जागृत –उध्र्वरेता– भएपछि ओजस्वी, तेजस्वी बनेर शरिरको समस्त रोगहरु नष्ट हुनुको साथै शक्ति प्रदान गर्दछ ।
–    स्वाधिष्ठान चक्रः मूलधार चक्रबाट २ अमल माथि यो चक्र रहेको हुन्छ । यसमा ध्यान लगायो भने जीवनमा सामथ्र्यता र मुखमा सरस्वतीको बास हुने हुन्छ । यो चक्र जागृत भएमा प्रजनन प्रणाली स्वस्थ र सामथ्र्य बन्दछ ।
–    मणिपुर चक्रः  यसको स्थान नाभी हो । यो चक्र जागृत भएपछि सम्पूर्ण पाचन प्राणाली, अग्नासय, स्वस्थ हुनको साथै यसमा ध्यान केन्द्रित गर्दा शरिर विज्ञान सम्बन्धि सम्पूर्ण ज्ञान हुन्छ । र यसमा दिव्य शक्ति विद्यमान छ जसले मस्तिष्कलाई प्रभुता र वुद्धिलाई प्रकाशित गरीदिन्छ ।
–    हृदय चक्रः यो चक्र हृदयको नजिक विद्यमान छ । यसमा ध्यान लगाई प्राणायाम गर्दा, वाचनकला, नेतृत्वशक्ति, साहित्यीक जितेन्द्रियता, उद्गिथ ध्वनीको साथै हृदयरोग नास हुन्छ ।
–    अनाहत चक्रः  यो चक्र दुवै स्तनको मध्यभागमा रहेको हुन्छ । यो चक्र जागृत हुँदा ह¸ी, मांसपेसी स्वस्थ र सुदृढ हुन्छ । यसमा ध्यान लगाउँदा प्रेम, करुणा, सेवा, एवं सहानुभूति गुणहरु प्राप्त हुन्छन् । यो स्थूल भाग नभई भावनात्मक भाग हो । जसको सम्बन्ध चित्तमा, मनमा हुन्छ ।
–    विशुद्धि चक्रः यसको  स्थान कण्ठ हो । यो जगाउँदा थाईराइड ग्रन्थी, फोक्सो सम्बन्धि रोग निर्मूल हुन्छ । यस चक्रमा ध्यान लगाउँदा मानिस कवि, महाज्ञानी, निरोगी, शोकहीन र दीर्घजीवि हुन्छ ।
–    आज्ञा चक्रः भृकुटीको मध्यभागमा यो चक्र रहेको हुन्छ । यसलाई इडा, पिड्डला तथा शुसुम्ना नाडीको त्रिवेणी पनि भनिन्छ । यो जाग्दा सम्पूर्ण नाडी तन्त्र शान्त, स्वास्थ, एवं संतुलित हुन्छ । सम्पूर्ण नाडी तन्त्रसँग सम्बन्धित छ । पापबाट मुक्त हुनको लागि दैनिक ओमकारको जप सहित यस चक्रमा ध्यान लगाएर अभ्यास गर्नुपर्छ ।
–    सहश्रार चक्रः यो तालु भन्दा माथि मस्तिष्कमा ब्रम्हरन्थ्र भन्दा पनि माथि दिव्य शक्ति केन्द्रमा अवस्थित छ । यो जागृत हुँदा स्नायु प्रणाली सन्तुलित हुनको साथै आत्माको ज्ञान प्रकाशित हुन्छ । यही चक्रबाटै शरिरमा सम्पूर्ण नसा तथा स्नायूप्रणालीहरु संचालित हुन्छन् ।

पञ्चकोषः
हाम्रो शरिरमा अवस्थित पञ्चकोषहरु निम्नानुसार छन् ।
१. अन्नमय कोषः
यो स्थुल शरिरको पहिलो भाग हो । अन्नमय कोषले छाला तत्व देखि शप्त धातु पर्यन्त रजवीजसम्म निर्माण गर्ने कार्य गर्दछ । यो पृथ्वी तत्वसँग सम्बन्धित छ । यसले नियमित आहार विहारबाट शरिरलाई स्वस्थ पुष्ट राख्दछ ।
२. प्राणमय कोषः
यो स्थुल शरिरको दोश्रो भाग हो । शरिर र मनको माध्यम प्राण हो यसले ज्ञान–कर्मको समस्त कार्यहरु सम्पादन गर्दछ । श्वासप्रश्वासको रुपमा कार्य गर्दछ, यसमा ५ वटै प्राण र उप–प्राणवायु पर्दछन् । यसको मूख्य कार्य आहारको परिपाक गर्नु, शरिरमा रसको उत्पादन गर्नु तथा वितरित गर्दै रगतमा मिलेर शरिरको सम्पूर्ण भोग तथा उपभोग गरेर मल निस्कासन र प्राणायामको अभ्यासले प्राणमय कोषको कार्य शक्ति बढ्दछ । यो वायुतत्वसँग सम्बधिन्त छ ।
३. मनमय कोषः
सुक्ष्म शरिरलाई क्रियात्मक रुपमा सञ्चालन गर्ने मनोमय कोष हो । यसमा मन, वुद्धि, अहंकार र चित्त पर्दछ । जसलाई चतुष्ठ्य अन्तःकरण भनिन्छ । ज्ञान एवं ध्यानबाट यस कोषको शुद्धि र पुष्टि हुन्छ । यसमा पञ्चकर्मेन्द्रियहरु पर्दछन् जसको बाह्य जगतसँग अधिक व्यवहार हुन्छ ।
४. विज्ञानमय कोषः
यो सुक्ष्म शरिरको ज्ञान प्रधान दोश्रो भाग हो । यसको मुख्य तत्व ज्ञानयुक्त वुद्धि एवं ज्ञानेन्द्रियहरु पर्दछन् । जसको सहायताले मानिसले ज्ञानपूर्वक ठीक तरिकाले जानेर उचित रुपबाट आचार विचार गर्दछ र असत्य, भ्रम, मोह, आशक्ति आदिबाट सर्वथा अलग रहेर निरन्तर ध्यान एवं समाधिको अभ्यास गर्दछ । जसलाई ऋतम्भरा प्रज्ञावान, विवेक एवं वैराग्यबाट चित्तवृत्तिको निरुद्ध गरेर आत्मवोध उपलब्ध हुन्छ ।
५. आनन्दमय कोषः
आनन्दमय कोष हृदय प्रवेशमा बस्दछ यो आन्तरिक जगतमा अधिक सम्बन्ध राख्दछ । मानिसको जीवन, स्थुल शरिर अस्तित्व र संसारिक सम्पूर्ण व्यवहार यही कोषमा पर्दछ । सफल आनन्दमय कोषबाट निर्विज समाधिमा पुगी जीवनमुक्त आनन्दमय स्थितिमा पुग्न सक्दछ ।

कुण्डलिनी शक्ति, चक्रसोधन र कुण्डलिनी जागरणको उपायः

प्राणायाम, ध्यान र विधिपूर्वक यौगिक क्रियाको अभ्यासद्वारा जब मूलाधारचक्र जागृत भएर दिव्यशक्ति उध्र्वगामिनी हुन्छ यसैलाई कुण्डलिनि शक्ति भनिन्छ । जुन शक्तिलाई भोगमा उपयोग गरिन्थ्यो त्यही शक्तिलाई योग अभ्यासद्वारा रुपान्तरित गरेर मनुष्यले भित्री दिव्य शक्ति प्रकट गर्छ ।
“यथा पिण्डे तथा ब्रम्हाण्डे” जुन शक्ति ब्रम्हाण्डमा छ त्यही शक्ति मनुष्य शरीरमा छ । विद्युतको मेन स्वीचले जुन काम गर्दछ कुण्डलिनी जागृत भएपछि हाम्रो शरिरमा सन्निहित दिव्य विद्युतिय शक्तिको स्वतः जागरण हुन थाल्दछ । कुण्डलिनी शक्ति जागृत भएको अवस्थामा सहश्रार चक्रतक सबै चक्रहरु सोधन भएर असम्प्रज्ञात समाधि वा दिव्य ज्ञानलोक प्रकट हुनुनै चक्रसोधन वा कुण्डलिनी जागरण हो ।
कुण्डलिनी जागरणको लागि ईच्छुक साधकले सम्यम र विधिपूर्वक  प्रतिदिन भस्त्रिका ५ मिनेट, कपालभाँति ३० मिनेट, बाह्य प्राणायाम ११ देखि २१ पटक, अनुलोमविलोम ३० मिनेट, भ्रामरी ५ मिनेट, उद्गिथ ५ मिनेछ र अधिकतम प्रणव ध्यान गर्दानै लक्ष्य सिघ्र प्राप्त हुन्छ ।



ध्यानको लागि दिशा निर्देशः
–    ध्यानको समयमा सर्वाेपरी महत्व केवल ध्यानमा मात्र लगाउनु पर्नेछ । दान परोपकार शुभकाम जे भएपनि ध्यानको समयमा महत्व नदिने । ध्यान समयमा चिन्तन, मनन, निधिध्यासनका लक्ष ब्रम्ह हुनु पर्दछ ।
–    ध्यान समयमा अन्तरमुखी भएर जड चेतन, बाह्य पदार्थबाट सम्पूर्ण ईन्द्रियाहरुबाट पृथक, प्रकृति, धन, ऐश्वर्य, भूमि, भवन, पुत्र, पौत्र, भार्या, शरिर आदि रुप म होइन । म केवल आनन्दमय, ज्योर्तिमय, शुद्ध अमृत पुत्र हुँ । पञ्चल्केश, पञ्चकोष आदिबाट रहित हुँ । म आनन्दमय भगवानसँग सम्बन्धित छु । उनै परमात्माले जीवन, प्राण, शरिर, सम्पूर्ण प्रदान गर्नुभएको छ । आनन्दरुपी परमात्माको अंसको कारण म माथि आनन्द बर्सिरहेको छ भन्ने महसुस नगर्नु दोष हो । 
–    आफू स्वयं द्रष्टा बनेर साक्षीको रुपमा बसेर समस्त शुभभावका कर्महरुलाई भगवानको सेवा मानेर अहंकार रहित तथा फलको अपेक्षा नगरी कर्मनै भगवानको क्रियात्मक ध्यान हो ।
–    संसारमा दुःख सुख केही छैन मनको भावनाको कारणले जे महसुस ग¥यो त्यही अनुभव हुन्छ । केवल भगवानको शरणापन्न भएर सम्पूर्ण अन्य विषयलाई विर्सेर ध्यानमा (समाधिमा) जानु पर्दछ ।
–   परमात्माको अनुभूती, आत्मसाक्षातकार गर्नको लागि दैनिक २४ घण्टामा १ घण्टा परमात्माको ध्यानलाई अनिवार्य रुपमा समय दिने गर्नुपर्दछ । यसरी ध्यान गर्दा दुःखबाट मुक्ति, आत्मसन्तुष्टि, संयम तथा दीर्घजीवन पाउन सकिन्छ । यसो नगर्दा संसारिक कार्यमा मात्र लाग्दा दुःख कष्ट, असंयम, अधैर्य आदिबाट पीडित हुनुपर्नेछ ।